स्वास्थ्य उपचारको क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । त्यसमध्ये भिडियो एक्सरे प्रविधिमा फोरडि प्रविधिको विकास भएको छ । फोरडि भिडियो एक्सरेमा पनि एनोमली स्क्यान (Anomaly Scan) एक महत्वपूर्ण परीक्षण अन्तर्गत पर्दछ ।
मुख्य रुपमा आमाको पेटमा रहेको बच्चा पाँच महिनाको भएपछि एनोमली स्क्यान (Anomaly Scan) गर्ने गरिन्छ । यसको फाईदा भनेको आमाको पेटभित्र रहेको बच्चा दुरुस्त हेर्न सकिन्छ । बच्चाको अनुहार लगायतका सबै अंगहरु, हाउभाउ सजिलै हेर्न मिल्छ ।
भिडियो एक्सरे सम्बन्धि भरतपुरको मौलाकालिका हस्पिटलका सिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. रमेश घिमिरे, सँग गरेको कुराकानीको केही अंश –
एनोमली स्क्यान (Anomaly Scan) भनेको के हो ?
बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धिविकास कस्तो भईरहेको छ ? भनेर भिडियो एक्सरे मार्फत् जाँच्ने प्रविधिलाई एनोमली स्क्यान (Anomaly Scan) भनिन्छ । आमाको पेटमा रहेको बच्चा पाँच महिना पुगिसकेपछि बच्चाको सम्पूर्ण शारीरिक अवस्था जाँच गरिन्छ । टाउकोदेखि खुट्टासम्म सबै अंगको अवस्था जाँच गरिन्छ । यो फोरडि भिडियो एक्सरेमार्फत् गरिन्छ ।
एनोमली स्क्यान (Anomaly Scan) कहिले र किन गर्ने ?
एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नुपर्छ । किनकि पाँच महिनापछि बच्चाको सम्पूर्ण अंग विकास भईसकेको हुन्छ । बच्चामा कुनै कमजोरी छ भने यो समयमा देख्न सकिन्छ । पाँच महिनापछि भएका अंगहरुको बृद्धि विकास मात्रै हुने हो ।
एनोमली स्क्यान (Anomaly Scan) गर्दा कस्ता–कस्ता समस्या देखिने गरेका छन् ?
एनोमली स्क्यानमा बच्चाको खुट्टादेखि टाउकोसम्मका सम्पूर्ण अंगहरुको अवस्था हेर्न मिल्ने हुँदा टाउकोमा पानी जमेको, कसैको टाउको नै नहुने, कसैको ब्रेन नै नहुने, नाक नै नभएको, आँखा नभएको, ओठ काटिएको, तालु फाटेको जस्ता समस्या देखिने गरेका छन् । यसैगरी फोक्सोमा समस्या, मुटुमा प्वाल परेको, मुटुको नसाहरु दायाबाया भएको, पेटबाट आन्द्रा बाहिर निस्केको, कलेजोमा समस्या, पिसाब थैलीमा समस्या, यौनअंगमा समस्या देखिने गरेका छन् । कुनैकुनै बच्चाको हात नभएको र कसैको खुट्टा बाङ्गो भएको पनि भिडियो एक्सरे गर्ने क्रममा भेटिने गरेका छन् ।
बच्चाले सधैं मठ्ठी पारेर राख्ने हुँनाले एनोमली स्क्यानमा औलाहरुको अवस्था देखिन्छ भन्ने चाहिं हुँदैन । हामीले बच्चाको अंगको स्टक्चर (बनावट) हेर्छाै, तर भोलि गएर ती अंगहरुले काम गर्छन् कि गर्दैनन् ? जस्तैः हात चल्छ कि चल्दैन ? टाउको चलाउन सक्छ कि सक्दैन ? भन्ने कुरा हामीलाई थाहा हुँदैन । केवल अंग कस्तो छ, राम्रोसँग विकास भएको छ वा बिग्रिएको छ भन्ने मात्रै थाहा हुन्छ ।
फोरडि भिडियो एक्सरे गर्दा आमा र बच्चालाई असर गर्छ कि गर्दैन ?
भिडियो एक्सरे वा फोरडि भिडियो एक्सरे गर्दा आमा र बच्चालाई धेरै रेडिएसन आएर असर गर्छ कि गर्दैन भन्ने धेरैको जिज्ञासा रहने गर्दछ । फोरडि भिडियो एक्सरे होस् वा सामान्य भिडियो एक्सरे होस् यसबाट निस्कने रेडिएसन भनेको आवाज (ध्वनी), अल्ट्रासाउण्ड हो, त्यसैले यसले पेटभित्रको बच्चा र आमालाई कुनै प्रकारको असर गर्दैन ।
भिडियो एक्सरे कतिपटक गर्न मिल्छ ?
डाक्टरको सुझाव सल्लाहबमोजिम भिडियो एक्सरे जति पटक गर्दा पनि केही फरक पर्दैन । यसले स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले आमा र गर्भमा रहेको बच्चालाई पनि कुनै असर गर्दैन । भरतपुरको मौलाकालिका अस्पतालमा हामीले अत्याधिक हाई रिजुलेसन भएको फोरडि भिडियो एक्सरे मेसिनद्वारा सेवा दिंदै आएका छौं ।





















