चितवन – पूर्वी चितवनको कालिका नगरपालिकाले अवैध रुपमा चोरी निकासी गरी डम्पिङ गरिएको नदीजन्य पदार्थ नियन्त्रणमा लिएर जफत गरेको छ ।
नदीजन्य पदार्थ चोरी निकासीमा सक्रिय स्थानीय युवाहरुको अवरोधका बीच डम्पिङ गरिएको ढुंगा र ग्राबेल नियन्त्रणमा लिएर जफत गरिएको सुचना अधिकारी प्रकाश पौडेलले जानकारी दिए । सो नगरपालिकाका मेयर विनोद रेग्मीको अगुवाईमा नदीजन्य पदार्थ जफत गरिएको हो ।
शक्तिखोर स्थित सिन्ती र कयर खोलाको किनारमा अवैध रुपमा चोरी निकारी गरी डम्पिङ गरिएको ढुंगा जफत गरिएको सुचना अधिकारी पौडेलले जानकारी दिए । शुक्रबार शक्तिखोर क्षेत्रबाट टिप्परको १२ टिप ढुंगा नियन्त्रणमा दिइएको छ । प्रहरीसहित खोलामा पुगेका मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ,प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायलाई चोरी निकासीका सक्रिय युवाहरुले घेरोबन्दीमा पारेका थिए ।
राजनीतिक दलसंग अवद्ध रहेको बताउने ती युवाहरुले डम्पिङ गरेर राखेका ढुंगा उठाउन दिएका थिएनन् । तर नगरपालिका र प्रहरीको टोलीले जबरजस्ती नदीजन्य पदार्थ नियन्त्रणका लिएर जफत गरेको हो । मेयर विनोद रेग्मीले शक्तिखोर क्षेत्रमा भइरहेको खुलेयाम तस्करी रोक्न नगरपालिकाले नदीजन्य पदार्थ नियन्त्रणमा लिएको बताए ।
नदीजन्य पदार्थ चोरी निकासीमा सक्रिया युवाहरुलाई मेयर रेग्मीले डम्पिङ गरिएको नदीजन्य पदार्थको श्रोत प्रमाणित गर्न चुनौती दिए । राज्यलाई कर तिरले उत्खनन् गरेको प्रमाणित गर्नुस उनले भने नियमसंगत छ भने हामी छाड्न तयार छौं ।
मेयर रेग्मीले शक्तिखोरपछि अन्य नदीहरुबाट चोरी तस्करी गरी डम्पिङ गरिएको ढुंगा र ग्रावेल नियन्त्रणमा लिने तयारी गरिएको बताए । प्राकृतिक श्रोतको कसैले दोहोन गर्न पाइदैन उनले भने अब कसैले चोरी गरेको पाइए सवारी साधन सहित मान्छेलाई समेत पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने उनको भनाई छ ।





















