काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीले अस्पतालसहित सरकारी सेवा लिँदा लाइनमा बस्नु पर्ने व्यवस्था एक महिनाभित्र अन्त्य गर्न निर्देशन दिनु भएको छ । उहाँले एक महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिनु भएको हो ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुसँगको छलफलपछि उहाँले सरकारी अस्पतालमा बिरामीको उपचार गर्दा लाइन लाग्नु पर्ने अवस्थाको एक महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिनुभयो ।
“अब सरकार गठनको एक महिनाभित्र सरकारी अस्पतालमा बिरामीको उपचार, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ” दाहालले दिनु भएको लिखित निर्देशनमा उल्लेख छ।





















