चितवन – अनुग्रह सामुदायिक विकास प्रतिष्ठानद्धारा भरतपुर ११ स्थित श्री नव जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
नर्सरीदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा सम्पूर्ण विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्वीटर र टोपी उपहार स्वरूप प्रदान गरिएको प्र्धानाध्यापक कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थपान समितिका अध्यक्ष राजु परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अनुग्रह सामुदायिक विकास प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं निर्देशक हरि कुमार खाति, विशिष्ठ अतिथि भरतपुर वडा न. ११ को सदस्य सीता रनपाल लगायत रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि हरि कुमार खातिले श्री नव जागृति आधारभूत विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने बताए ।

जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने उनले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थपान समितिका अध्यक्ष राजु परियारले अनुग्रह सामुदायिक विकास प्रतिष्ठानको पहलमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए साथै यस प्रतिष्ठानलाई धन्यवाद दिए ।
प्र्धानाध्यापक कृष्ण प्रसाद पराजुलीले जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरणले धेरै राहत मिलेको बताउनुभयो ।






















