काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।
साथै, आठ जना मन्त्रीले पनि शपथ लिएका छन्। प्रधानमन्त्रीसहित माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन्।
माओवादी केन्द्रबाट उपप्रधान सहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमतबाट मन्त्रीमा अब्दुल खानले शपथ लिएका छन्।
त्यस्तै एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राईले पनि मन्त्रीका रूपमा शपथ लिएका छन्। एमालेका साह, भण्डारी, राई र जनमतका खानको मन्त्रालय पछि तोकिने छ।
शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईहरू उपस्थित थिए। त्यस्तै पूर्वमन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए।





















