काठमाडौं। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाइएको छ।
दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिस गर्न पत्र पठाइएको हो। थ्रेस होल्ट कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेका मध्येबाट नाम सिफारिस गर्नुपर्नेछ।
आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ।
सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन्।
दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ।
आयोगको अन्तिम नतिजा अनुसार प्रत्यक्षमा ५७ सिट जितेको काँग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ। अब काँग्रेससँग जम्मा ८९ सिट भएको छ। २०७४ को चुनावमा पहिलो दल बनेको नेकपा (एमाले)ले दोस्रोमा झरेको छ। उसले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरेर ७८ सिट जितेको छ।
तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट जितेको छ। यसै चुनावबाट उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट गरी जम्मा २० सिट जितेर चौंथो ठूलो शक्ति बनेको छ।
यस चुनावबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि बलियो बनेको छ। राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट जितेर पाँचौँ शक्ति बनेको छ। प्रत्यक्षमा पाँच र समानुपातिकमा सात गरी १२ सिटसहित जनता समाजवादी (जसपा) छैटौँ ठूलो दल बनेको छ। प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेर सिके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बनेको छ।
यी सात दलबाहेक अरूले समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन नसकेकाले राष्ट्रिय दल बन्न सकेनन्। एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा १० सिट जितेको छ। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार सिट जितेको छ।
नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ। नेमकिपा र राष्ट्रिय जनमोर्चाले समान १-१ सिट जितेका छन्।






















