काठमाडाैँ / हिन्दु धर्मावलम्बीहरूले आज साउन शुक्ल पञ्चमीका दिन सबेरै उठेर स्नान गरी दिप ,कलश ,गणेशको पुजा गरी नागस्थानमा दूध, दुबो, जल चढाउनुको साथै घरको मूल प्रवेशद्वार माथी गाईको गोबरले नागको फोटो टासेर नाग पञ्चमी मनाइँदै छ ।
अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ । यी सम्पु्र्णको लागि आजकै दिन पूजा अर्चना गरिन्छ ।
यसरी दैलोमा टासिएको नागको तस्विरले घरमा जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने अनि देशमा सुख शान्ति एवं समृद्धिको वर्षा हुन्छ भन्ने धार्मिक आस्था छ ।
वैधिककालदेखि नै नागको पूजा गर्ने प्रचलन रहेको पाइन्छ । एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उनले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ ।
त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।
भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले नागलाई शिव र विष्णुका रूपमा पनि पूजा गर्ने गरिन्छ । आजको दिन नागसंग ब्रह्माको संवाद भएकाले यो दिनलार्इ प्रसिद्ध मानिन्छ । घरको जगमुनि बसेका नाग रिसाइ गएमा जग नै भत्कन्छ र पानीको अभाव हुन्छ भन्ने भयको कारण नागलार्इ खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । नाग पञ्चमीका दिन देखी वर्षा सकेर हिउँद ऋतु सुरू हुन्छ ।
नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी, कर्कोटक नागको वासस्थानका रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौती ,चाँगुनारायण नगरपालिका-८, कलमसीस्थित कल्पेश्वर नागमा लगायत मन्दिरहरूमा विषेश रूपमा पूजाअर्चना गरिने हुदाँ भक्तजन पुग्ने गर्दछन् ।






















