चितवन / लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु ले कोरोना संक्रमणबाट जोगिनका लागि आज भरतपुरको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा थप एउटा धारा जडान गरिदिएको छ । नियमित रुपमा साबुन पानीले हात धोऔँ भन्दै सार्वजनिक स्थानमा सेमी अटोमेटिक धारा जडानलाई तीव्रता दिएको छ ।
यस अभियान अन्तर्गत क्लबले यसअघि चितवन र नवलपुरका विभिन्न १४ स्थानमा धारा जडान गरेको लायन्सको कोभिड सुरक्षा समितिका संयोजक सिद्धार्थलाल चुकेले बताए । मानिसको बढी भीडभाड हुने स्थान छनौट गरेर नवलपुर र चितवनका विभिन्न क्षेत्रमा धारा जडानको काम अगाडि बढाइएको चुकेको भनाइ छ ।
क्लबले यसअगाडि विद्युत प्राधिकरणमा एउटा धारा जडान गरिसकेको भएपनि उपभोक्ताको चाप बढी भएर पुनः अर्को धारा माग भएको कारण धारा जडान गरिएको चुकेले बताए । धारा जडानका लागि लायन्स क्लब अफ नारायणगढ संगमचोक र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनीले सहकार्य गरेका चुकेको भनाइ छ ।
लायन्स क्लब इन्टरनेशन ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले कोभिड प्रकोप सुरु भएदेखि नै लायन्स क्लबले सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताए । सेमीअटोमेटिक धारामा हात धुने पानी, साबुन तथा लिक्विड राखिएको छ ।
सार्वजनिक स्थानमा हात धुने व्यवस्था गर्दा सर्वसाधारण नागरिकमा हात धुने बानीको विकास हुने कार्यक्रम संयोजक लायन्स क्लब अफ नारायणगढ संगमचोकका सुवीर श्रेष्ठले बताए । धारा उद्घाटन कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नारायणगढ संगमचोकका अध्यक्ष घनश्याम सुवेदी र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनीका अध्यक्ष रचना चुकेले गरेका थिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले स्वागत मन्तव्य राखेका थिए ।





















