चितवन । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा तेस्रो ठूलो पार्टी बन्ने सम्भावना बढेको छ ।
हालसम्म विभिन्न १२ क्षेत्रमा अग्रता लिइरहेको घण्टी चुनाव चिन्ह भएको स्वतन्त्र पार्टीले जितको सम्भावना पनि त्यत्तिकै बढेको छ ।
यस अघि प्रक्षेपणमा पनि रवि लामिछानेको पार्टीप्रति सर्वसाधारण र युवाको चाँसो बढेको थियो । चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै अग्रता लिइरहेका छन् । उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बढाइरहेका हुन् ।
रविको पार्टीले चितवनसँगै काठमाडौँ २, काठमाडौँ ६, काठमाडौँ ७ मा अग्रता लिइरहेको छ । यस्तै ललितपुर ३, सुनसरी २, चितवन १ मा पनि रविकै पार्टीको अग्रता छ । काठमाडौँ ८ मा भने रविको पार्टीबाट विराजभक्त श्रेष्ठले जित हासिल गरिसकेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी ३, झापा ४, रुपन्देही २ र कास्की २ मा पनि अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम हेर्दा रविको पार्टीभन्दा पछि राष्ट्रिय प्रजातन्त्र छ । उसले ७ ठाउँमा मात्रै अग्रता लिएको छ ।
माओवादीले १५ क्षेत्रमा अग्रता लिँदा एमालेले ३९ र कांग्रेसले ४५ ठाउँमा अग्रता लिएको छ । अहिले अग्रता लिएका ठाउँमा जित्ने सम्भावना रहेका कारण रविको पार्टी संसद्को तेस्रो ठूलो दल बन्ने पक्का छ ।





















