प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ। आज बिहान ७ बजेबाट देशभर थालनी भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। अहिले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
देशभर १० हजार आठ सय ९२ मतदानस्थल छन्। २२ हजार दुई सय २७ मतदान केन्द्र छन्। ती मतदान केन्द्रबाट एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्दैछन्।
त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताको निम्ति एक सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। चार लाख ५० हजार अस्थायी मतदाता छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि दुई हजार चार सय १२ र प्रदेश सभाका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा मतदान गरेका छन्। उनले गन्यापधुरा गाउँपालिका-१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा आज बिहान मतदान गरेका हुन्।
प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गरेका थिए। नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी थिए।
विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री देउवा अहिले सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन्।





















