चितवन / भरतपुर महानगरपालिका वडा नम्बर–१७ का वडा सदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गालीगलौच गरेको र कुटपिटसमेत गरेको भनी आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् ।घटना साउन ६ गते बेलुका ८ बजेको हो ।
उनले प्रेस विज्ञप्ती जारी गर्दै दान बहादुर सार्कीले क्वारेन्टिनको विषयलाई लिएर वडा कार्यालयमा हल्ला गर्न आएपछि समान्य वादविवाद भएको जनाएको छ । व्यवस्थित रुपमा रहेको क्वारेन्टिनलाई अव्यवस्थित भनि होहल्ला, हुदंगा सहित वडाध्यक्षलाई बाटो छेकेको विज्ञप्तीमा उल्लेख छ ।
स्थानीय ४२ वर्षीय दानबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ७ गते बुधबार उजुरी दिएका थिए ।
संक्रमित र उनको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा स्थानीयले आवाज उठाएपछि दुई हप्ताअघि वडा कार्यालयमा छलफल भई टुङ्गिएको विषयमा ६ गते राति पुनः वडा सदस्यकै नेतृत्वमा वडा कार्यालयमा किन बढी बोेलेको भनी कुटपिट भएको पीडित दानबहादुरले आरोप लगाएका थिए ।





















