चितवन – नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्यका उमेदवार घनश्याम दाहाल (अविनाश) ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर २९ को कमलपुर गाउँमा सोमबार आयोजित पिढि सभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताएका छन् ।
“गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु”, उनले भने , “गठबन्धनको जीत सुनिश्चित छ ।”
शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उनले बताए । मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने दाहालको भनाइ छ ।
“यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ”, उनले भने ।
“माओवादीका कार्यकर्ताले रुख चिन्ह र कांग्रेसका कार्यकर्ताले हसियाँ हतौडा हाम्रै चिन्ह हो भनेर नहिच्किचाइ भोट हाल्नुपर्छ”, उनले आग्रह गरे ।
त्यस्तै पिढि सभामा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी थिए ।






















