भरतपुर – प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारीले शिक्षक अस्पताल बनाउन पहल गर्ने बताएका छन् ।
यसअघि गठबन्धन सरकारले निर्णय गरिसकेको स्मरण गराउदै उनलेे अस्पताल निर्माण प्रक्रिया कार्यान्वयन गर्ने बताएका हुन् ।
भरतपुर १५ काे भगवानपुरमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै डा. भाेजराजले निजामती अस्पताल अन्तर्गत विशिष्टिकृत अस्पतालका रूपमा निर्माण गरिने बताए ।
३०० शैया क्षमताको संघीय शिक्षक अस्पताल बनाउने वर्तमान सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रडशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्छ । २१ बिगाह जग्गामा साे शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएकाे हाे ।
पश्चिम चितवनको भुगाेल र यहाँको आवश्यकतालाई ख्याल गर्दै भरतपुर महानगरपालिकाले साे अस्पताल बनाउने योजना सिफारिस गरेको उनलेे बताए । केन्द्रीय निजामती अस्पताल बनाउने सन्दर्भमा आफुले समेत सुझाव दिएको डा. भाेजराजले बताए ।
स्थानीय युवा र महिलाहरूलाई सम्बाेधन गर्दै उनलेे निर्वाचनमा महिला र युवाकाे भुमिका नै निर्णायक रहेको बताए । “परिवारमा असल शिक्षा दिन नारी र युवा शक्ति प्रभावकारी हुन्छन्”, उनलेे भने,”चुनावमा हुने दुश्प्रचार नियन्त्रण गर्न पनि नारी र युवा निर्णायक हुनेछन्” । त्यसकारण यथार्थ बुझेर मतदान गर्न उनको अाग्रह छ ।





















