काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्कदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सक्रिय भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको हो ।
भेटमा उहाँले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराउनु भएको हो ।कोरोना संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४३ जनाको मृत्यु भएको अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउनका लागि देउवाले नेपाली कांग्रेसका तर्फबाट माग गर्नुभएको थियो ।
देउवाले पीसीआर प्रविधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको जानकारी दिइएको छ ।नेपालमा क्वारेन्टाइन अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गर्नुभएको छ । साथै, देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गर्नुभएको छ ।
बाढीपहिरो पीडितको सरकारले उद्धार, राहत र पुनःर्स्थापनाका लागि तिव्र गतिमा काम गर्न र कोरोनाबाट उब्जिएका समस्याहरुलाई गम्भीरतापूर्वक कदम चाल्न देउवाले ओलीलाई अनुरोध गर्नुभएको जानकारी दिइएको छ ।





















