चितवन । बढ्दो महङ्गीले जनताको जीवन कष्टकर बनेको छ । खाद्य सामग्रीदेखी लत्ताकपडा सबैमा मुल्य वृद्धि भएको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मुख्य वृद्धिप्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौ धौ छ ।
चुनावी अभियानका क्रममा जनताबाट चरम महङ्गीको मारमा आफूहरु परेको गुनासा पछि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्य घनश्याम दाहाल (अविनाश) ले मुल्य वृद्धि नियन्त्रण गर्ने र जनताको जीवन सहज बनाउने कार्यक्रम ल्याउन सरकारलाई दवाव दिने प्रतिवद्धता जनाउनु भएको छ ।
चुनावी घरदैलो तथा कोणसभाका क्रममा आईतबार ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को कुयरघारीमा भएको कार्यक्रममा उम्मेदवार दाहालले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहत मुलक कार्यक्रम ल्याउनका लागि दवाव दिने प्रतिवद्धता जनाउनु भएको हो ।
उहाँले भन्नुभयो,“साँच्चै महङ्गीले जनताको ढाड सेकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । हामी विजयी भएर गईसकेपछि मुल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।”
उम्मेदवार दाहालले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताउँदै अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धि सहित सुशासन दिने स्पष्ट पार्नुभयो ।
त्यस्तै चुनावी घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी थिए ।





















