माडी : प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भोजराज अधिकारीले यहाँका थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको अनुसन्धान गर्ने बताएका छन् ।
थारू समुदायमा मात्रै यो रोग देखिन्छ । यसअघि केन्द्रीय स्वास्थ अनुसन्धान परिषदमा रहदा बाँके बर्दियामा आफुले सो रोगको अध्ययन गरेको उल्लेख गर्दै उनले चितवनमा समेत अनुसन्धान गर्ने बताएका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै डा. भोजराजले भने “म राष्ट्रिय स्वास्थ अनुसन्धान परिषद्को उपाध्यक्ष भएको समयमा बाँके, बर्दियाका थारू समुदायमा मात्रै सिकलसेल एनिमिया भन्ने रोग देखियो ।
त्यहीँ समयमा चितवनका थारू समुदायमा समेत यो आवश्यक देखेर अनुसन्धान गर्ने निर्णय गरेका छौें, अब अनुसन्धान सुरु हुन्छ ।” यसको नियन्त्रणका उपाय अघि बढाउने उनको प्रतिबद्धता छ ।
स्वास्थ क्षेत्र स्वभाविक रूपले नै प्राथमिकतामा परेको उनले बताए । माडीका स्वास्थ्य र शैक्षिक संस्था सुधार गर्न पहल गर्ने डा। भोजराजको जोड छ । बगौडा अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा अघि बढाईने उनले बताए । थारू समुदायको सम्मान हुने गरि योजना बनाउने उनले बताए ।
यस्तै लोकतान्त्रिक- बाम गठबन्धन अन्तर्गत प्रदेशसभाका उम्मेदवार ठाकुर ढकालले रेवा खोला तटबन्ध गर्न पहल गर्ने बताएका छन् । शिवद्वारबाट सौराहा पर्यटन मार्ग बनाउन योजना अघि बढेको ढकालले बताए ।
नागरिकता विहिन समुदायसँगको भेटघाटमा गठबन्धनका उम्मेदवार डा. भोजराज र ठाकुरले जन्मका आधारमा नागरिकता दिने विषय चाडैं समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।





















