चितवन – नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेश कमिटी गठन भएको छ । रेडियोलोजी दिवसको अवसरमा मंगलबार चितवनमा सम्पन्न प्रथम प्रादेशिक अधिवेशनले कमिटी गठन गरेको हो ।
कमिटीको अध्यक्षमा अमृत काफ्ले चयन भएका छन् । काफ्ले सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । कमिटीको उपाध्यक्षहरुमा रुपेश सिलवाल, स्वेच्छा जोशी र रोशन पटेल निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा चिरञ्जिवी पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा, सह कोषाध्यक्षमा भोगेन्द्र शाह चयन भएका छन् । यस्तै सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदीप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी चयन भएका छन् ।
नव गठित कार्यसमितिले रमेश घिमिरे, प्रदेश घिमिरे, सञ्जय शाह, अशोक शाह र जयनारायण झालाई सल्लाहकार समितिमा चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले सोसाइटीलाई यस पेशामा देखा पर्ने समस्याहरुको डेटर सामना गर्न शुभकामना दिए ।
रोडियोलोजिस्टहरुले जोखिममा काम गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको भन्दै कामको शिलशिलामा स्वास्थ्यमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनले बताए । यसका लागि पनि सोसाइटी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
गुणस्तरीय रेडियोलोजी सेवामा पनि सोसाइटीलाई उचित कदम चाल्न उनले आग्रह गरे । उनले अस्पताल तथा स्वास्थ्य संस्थामा रोडियोलोजिस्टहरु न्युन रहेको तथा स्वास्थ्य चौकीमा रोडियोलोजिस्टको दरबन्दी नै नरहेको बताए । अहिले गाउँ-गाउँमा सेवाग्राहीले रोडियोलोजिस्ट माग गरिरहेकोले यसका लागि आवश्यक पहल गर्न सोसाइटीलाई उनको सुझाव थियो ।
भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख केशव भट्टले स्वास्थ्य चौकीमा सोसाइटीको दरबन्दीको व्यवस्था गर्न सके सोसाइटीले सार्थकता पाउने बताए । कानुन संशोधन गरेर भए पनि सोसाइटी यसका लागि अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले महानगर यसका लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताए ।

























