काठमाडौं / आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय वटा सवारीसाधान उपहार स्वरुप प्रदान गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरुप २ सय सवारीसाधन प्रदान गरेको हो ।
एक कार्यक्रमबीच अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबाट उपहारस्वरुप सवारीसाधन ग्रहण गरे । सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्नेगरी भारत सरकारले नेपाल सरकारलाई सहयोग स्वरुप २ सय वटा सवारी साधन दिएको बताए ।
उनले २ सय सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको बताए । उनले भारत सरकारले नेपालमा हुने हरेक निर्वाचनमा सवारी साधन सहयोग गर्दै आएको भन्दै अहिलेसम्म २४ सय भन्दा बढी सवारी साधन सहयोग गरेको बताए ।
राजदूत श्रीवास्तवले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहार दिएको बताए ।
कार्यक्रममा अर्थमन्त्री शर्माले निर्वाचनको लागि सवारीसाधन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।





















