काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन्।
संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेका बीचमा निर्वाचनमा संघर्ष हुने बताए।
वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ।’
संविधानको संरक्षणका साथै संघीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरूको गठबन्धन रहेको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राखे।
उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए। प्रचण्ड भने, ‘विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो।
त्यसका विरुद्ध हामी सबै उभियौं। संघर्षका बीचमा गठबन्धन बनेको हो। सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन। त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो।’
शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो। नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै उनले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए।
नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।
तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरङ्कुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौं। यो स्वाभाविक र प्राकृतिक छ।’
विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारी दिँदै उनले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताए।
उनले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा साझा धारणा रहेको बताए।
‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको तथ्य पेश गर्दै उनले आर्थिक विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौं भने नेपाली जनताले पुनः भरोसा प्रदान गर्ने स्पष्ट पारे।
प्रचण्डले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गरे।
कुनै पनि दुबिधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जानसमेत उनले आग्रह गरे।





















