बागलुङ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन्।
बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन्।
केपी ओली आफ्नै दल भित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकार भन्दा विपरीत गएर काम गरेकाले गठबन्धन बनाएको बताए। ‘शान्ति प्रक्रियामा होस् या, शान्ति पक्रिया पछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौं,’ उनले भने, ‘यो गठबन्धनलाई टुटाउन षड्यन्त्रकारी लागि परिरहेको छन्।’
यस अघिको सरकारले विदेशी कूटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धनको सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुत बनाउने काममा लागि परेको जानकारी दिए। ‘प्रतिगमन र आर्थिक उन्नतिका लागि गठबन्धनलाई सँगै लैजानुपर्नेछ,’ उनले भने, ‘सरकार बनाउन भन्दा प्रणाली बचाउन गठबन्धन भएको हो।’
निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्णय भई अघि बढेको बताउँदै मध्य पहाडी लोक मार्गको विकल्पको मल्म पाण्डवखानी भीमगिठे दर्लिङ, निसी हुँदै प्युठान जोड्ने सडक हुने बताए। ‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरूको एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरू गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ।’
जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकाशका लागि जीवनरहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे। बागलुङ जिल्ला सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउँदै अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुटाएको बताए।
प्रदेशसभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए।





















