चितवन / नारायणगढ–मुग्लिन १६ किलोको सडक खण्डमा पहिरोले झण्डै १५० मिटर भाग ढाकेको छ । १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ ।
भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टान सहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ ।
नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ ।साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनुपर्ने हुन्छ ।
सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।
करिब २५० मिटर माथि बाट पहाडै खसेको छ । करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको दराईले जानकारी दिनुभयो । अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ ।





















