काठमाडौं / बिहीबारदेखि देशभरका यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । व्यवसायीले सरकारसँग छोटो दूरीको यातायात सञ्चालन गर्न तयार भए पनि लामो दूरीको सवारी साधन समेत सञ्चालन गर्न माग गरेका छन् ।
यातायात व्यवस्था विभागसँग ५०/ ५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमति भएको महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले बताए ।
काठमाडौंको तीनकुनेमा मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
यातायात मजदुरलाई स्वास्थ्य सुरक्षाको लागि पिपिई,मास्क तथा स्यानिटाइजर व्यवसायीले उपलब्ध गराउने उनले जानकारी दिए ।





















