गोरखा / लगातार तीन दिन देखिको बर्षापछि आएको बाढीले गोरखाको भुसुण्डे फाँट लगायत हजारौं रोपनी खेतको रोपो बगाएर बगरमा परिणत भएको छ ।
बूढो खोला फाँट , भुसुण्डे खोला फाँट , चुदीखोला फाँट, खारखोला फाँट, दरौंदी खोला फाँट , ज्यादुलखोला फाँट, चेपेखोला फाँट लगायत का हजारौं रोपनी धान खेत बगर बनेको स्थानीय किसानहरुले बताएका छन् ।
हाम्रो तिरको हजारौं रोपनी खेत बगर बनिसक्यो , भुसुण्डे का स्थानिय रामलाल कुमालले भने पोहरसाल नरोपिएका खेतहरु पनि किसानहरुले यसबर्ष रोपेका थिए । तर सबै अजङ्गको बगर बन्यो । अब रोप्ने सम्भावना पनि छैन । यसबर्ष भोकमरी लाग्ला जस्तो भयो ।’ फाँटमा ९५ प्रतिशत रोपाइँ सकिएकाले बिउ पनि बाँकी नरहेको उनले बताए ।
गोरखा नगरपालिकाको वडा नं. १०, ११, १२ का फाँटका करिब दुई हजार रोपनी रोपाइँ भएका खेतहरु, पालुङटार नगरपालिकाको वडा नं. १, २, ९, १० का करिब १५०० रोपनी धान खेत, शहीद लखन गाउँपालिकाको वडा नं. २, ६ ९, का करिब १५०० रोपनी रोपाइँ भएका खेतहरु बगरमा परिणत भएको जानकारी आएको कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् । सबै ठाउँको रिपोर्ट नआइसकेको उनले बताइन् ।
फाइल फोटो





















