काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई प्रतिगमनको नयाँ स्वरूप भनेका छन्।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले गत सालदेखि प्रतिगमनको नयाँ-नयाँ रूप आएको चर्चा गर्दै राष्ट्रपतिको कदमलाई पनि प्रतिगमन भनेका हुन्।
प्रचण्डले पछिल्लो पटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरे। ‘गत सालदेखिनै प्रतिगमन नयाँ-नयाँ स्वरूपमा आइरहेको छ।
कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ,’ उनले भने, ‘संविधानको पालक र संरक्षकबाट जानिबुझी संविधान खुलेआम मिच्ने काम भएको छ। यो सामान्य होइन।
हजारौंको बलिदानबाट, लाखौंलाख किसान, मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको छ।’
उनले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै सञ्चालन गर्न आग्रह गरे।
प्रतिगमनकारी शक्तिलाई परास्त गर्न फेरि वामपन्थी शक्ति एक बनाउने प्रयत्न भइरहेको उनले बताए। प्रचण्डले उनले परिवर्तन विरोधी शक्तिहरू माओवादी आन्दोलन असफल पार्न लागिपरिरहेको पनि बताए।





















