काठमाडौं। आज शनिबारदेखि निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गर्ने भएको छ।
आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने छ।
चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ सुरू हुने जानकारी दिए।
आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन्। आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरू गरेको हो। देशभरिका ७ सय ५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो।





















