चितवनः नेपाली काङ्ग्रेसले सञ्चालन गरेको जनताको साथमा काङ्ग्रेस अभियानको समापनका लागि प्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा चितवन आउनुहुने भएको छ ।
यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम समापनका लागि देउवा चितवन आउन लाग्नु भएको हो ।
नेपाली काङ्ग्रेस चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि देउवा शुक्रबार चितवन आउन लाग्नु भएको जानकारी गराएको हो ।
काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जननायक विशेश्वर प्रसाद कोईरालाको १०९ औं जन्मजयन्तीको अबसरमा अभियानको पहलिो चरणको कार्यक्रम सम्पन्न गर्न लागिएको हो । सो अबसरमा जेष्ठ राजनीतिककर्मी सम्मान, द्धन्द्ध पिडित व्यक्तिहरुको सम्मान र मरणेपरान्त सम्मान गर्न लागिएको छ । जिल्लाका १५० भन्दा बढि व्यक्तिहरुलाई सो अबसरमा सम्मान गर्न लागिएको खनालले जानकारी दिनुभयो ।
काङ्ग्रेस चितवनले अभियानमा जिल्ला कार्यसमितिले पार्टीका आम संरचनालाई परिचालन हुन अपिल गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन लक्षित अभियानमा तीनवटै क्षेत्रिय कार्यसमितिको आयोजनामा क्षेत्र अन्तर्गत महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, प्रदेसभा कार्यसमिति, पालिका कार्यसमिति वडा सभापतिहरुको बीचमा अन्तरक्रिया, जिल्लाको आयोजनामा महासमिति सदस्य र महाधिबेशन प्रतिनिधिहरु बीच अन्तरक्रिया, सबै वडाका पार्टी सभापति, निर्वाचित वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रजातान्त्रीक बिचार समाजको आयोजनामा पेशाकर्मी र बुद्धिजीविहरुका वीच अन्तरक्रिया समेत सम्पन्न गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । अभियानका क्रममा जिल्लाका सात पालीकामा रहेका ९८ वटा वडामा दुई जनाका दरले प्रतिनिधि खटाई वडाको बस्तुस्थिति बारे जानकारी अध्यावधी गर्ने कार्य समेत प्रारम्भ भएको खनालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य श्याम कुमार घिमिरेले पार्टी भित्र बसेपछि पार्टीको निर्णयको खिलापमा जान कसैलाई पनि छुट नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “पार्टीको निर्णय बिरुद्ध जानेलाई कारवाही हुन्छ ।” काङ्ग्रेसले गठवन्धनको नयाँ अभ्यास गरेको बताउँदै उहाँले नयाँ अभ्यासमा जाँदा केही असहज भएको महशुश कार्यकर्तामा भएको बताउनुभयो ।
स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिएका काङ्ग्रेस नेता कार्यकर्ताको कारवाही फुकुवाका लागि केन्द्रमा परिपत्र भएको भन्दै उहाँले सबै एक भएर निर्वाचनमा लाग्ने बिश्वास आँफुले लिएको बताउनुभयो । उहाँले भन्नुभयो “मेरो १४ दिनको चितवन बसाईमा नेता कार्यकर्तामा देखिएको समस्या समाधान हुँदै जाने देखेको छु ।” उहाँले थप्नुभयो “असन्तुष्ट पक्षलाई समेत समेट्ने प्रयास यस पटक भएको छ ।”
नेपाली काङ्ग्रेस चितवनले दुईवटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेशसभा क्षेत्रमा दाबी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।





















