चितवन । भारतीय केराको आयातले चितवनका किसान मर्कामा परेका छन् । दसैं, तिहार चार्डपर्वलाई मौका छोपी भारतीय केरा भित्रिएपछि यहाँको उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् । पछिल्लो केही समययता भारतबाट आयातित केराले स्थानीय उत्पादनको बिक्रीमा समस्या ल्याएको छ ।
भारतीय केराको आयत नरोकिए आन्दोलन गर्ने चितवनका केरा उत्पादक किसानहरुले चेतावनी दिएका छन् । भारतीय केराको आयतले चितवनमा उत्पादित केरा विक्री हुन छाडेको भन्दै आयत नरोकिए किसान आन्दोलन गर्न बाध्य हुने चितवन केरा उत्पादक संघले आज (बुधवार) रत्ननगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
भारतबाट आउने केराको आयातले धेरै असर चितवनलाई परेको व्यवसायीहरुको भनाई छ । भारतबाट केरा ल्याएर यहाँका किसानहरुलाई विस्थापित गर्न खोेजेको उनीहरुको आरोप छ ।
चितवनमा ७२२ जना कृषकले ३ हजार २०० विघा क्षेत्रफलमा केरा खेती गरेका छन् । अहिले चितवनमा ७० हजार मेट्रिकटन केरा तयारी अबस्थामा रहेको छ । भारतीय बजाका केराका कारण बजामा प्रतिष्प्रर्धा गर्न गाह्रो रहेको संघका पूर्व अध्यक्ष तथा केरा जोन चितवनका संयोजक विष्णुहरि पन्तले बताए ।
यहाँका व्यापारिहरुले भन्सारको मिलेमतोमा एल.सि नगरिकेरा भारतीय केरा ल्याईरहेकाले नेपाली केरालाई कम प्राथमिकता दिएको उनको भनाई छ ।
किसानहरुले हरियो मालभोग केरा प्रति घरी ३ सय देखि ४ सय रुपैँयामा विक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए । यस्तै, केरा दर्जनको ४८ रुपैँया र जिनाइन केरा प्रतिदर्जन ३० रुपैँमा विक्री गनुपर्ने अवस्था आएको पन्तले बताए । चितवन केरा उत्पादक संघ अध्यक्ष माधव प्रसाद घिमिरेले नेपालमा उत्पादन गरेको केराको बजार व्याव्थापन गर्न र नेपाली केराको उचित मूल्य तोकेर नेपाली केरा किसानहरूलाई टेवा पुर्याउन हुन समेत अनुरोध गरे ।
नेपालमा बार्षिक १० लाख मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । चितवनमा भने बार्षिक १ लाख ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको यहाँको केरा पोखरा, काठमाण्डौं, बुटवल, दाङ, नारायणगढ लगायतका क्षेत्रहरुमा विक्री हुने गर्दछ ।





















