काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने बताएका छन्। उनले भने, ‘ माओवादी बलियो नहुँदासम्म प्रतिगमनको खतरा बढिरहने छ ।
क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने बताएका हुन्।
माओवादी आन्दोलन बलियो बनाउन तपाईंहरु फिल्डमा जानुहुनेछ।’ उनले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको पनि बताए।
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाउँदै उनले त्यसलाई सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको बताए। ‘शासकीय स्वरूप र निर्वाचन प्रणाली मात्रै होइन समाजवादी क्रान्तिका निम्ति जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्नेछ,’ प्रचण्डले भने।
उनले समाजवादी क्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताए। उनले भने, ‘जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं। समाजवाद निर्माणको महाअभियानमा लागौं। विचार र सिद्धान्तलाई उच्च प्राथमिकता दिनुपर्छ।
निर्वाचनको ब्याटलमा जाँदैछौं। पार्टीको नीति के छ भने सडक, सदन र सरकारबाट आन्दोलन गरेर मात्रै उपलब्धि हासिल गर्न सकिन्छ।’





















