काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन् ।
बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई समस्या नै नमानेको बताएका हुन् ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए ।
अध्यक्ष ओलीले गठबन्धन सरकारलेआफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दो भएको समेत बताए । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराए ।
पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलविर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।





















