काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेकपा एमाले पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गरे।
‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु(एमाले अब अत्यन्त सक्रिय हुनुपर्छ। जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुको पदको नेता होइन, लिड गरेर कामका नेता। म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म।
अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ’ उनले भने, ‘१८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नुस्। ८ घण्टा मात्रै एक जना मानिसले काम गर्यो भने धेरै काम हुन सक्छ। त्यसकारण सक्रिय बनौं। संयमित बनौं, शालिन बनौं। विनम्र बनौं। र, जनताका बीचमा जाऔं। म नेताजीहरुलाई पनि आग्रह गर्न चाहन्छु।’
एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराए। पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाई थियो।
उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पुर्याउने उल्लेख गर्दै उनले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्रै ठाउँहरु हुने पनि स्पष्ट पारे।





















