चितवन / चितवनको भरतपुर ११ मा बस्दै आउनुभएको समाजसेवी देवीका कुँवरले स्वतन्त्रबाट उम्मेद्धवारी दिने हुनुभएको छ ।
आउँदो २०७९ मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन मिति घोषणा भएसँगै चुनावी सरगर्मी सुरु भइसकेको छ । उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारहरु चुनावी तयारीमा समेत जुटिसकेका छन् । यसै क्रममा चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट देवीका कुँवर चुनावी मैदानमा उत्रिने तयारीमा हुनुहुन्छ ।
उहाँले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी थाल्नुभएको छ । ‘म पूर्ण रुपमा तयारीमा लागिसकेको छु’, उहाँले भन्नुभयो ।
सामाजिक अभियन्ता कुँवरले आफ्रनो फेसबुकमा यस्तो पोष्ट गर्नुभएको छ ।
पहाडको सामु तिल हाँसोको पात्र बनेर आँसु पुच्छने पात्र बन्ने दौडमा एक साधारण महिला उभिने जमर्को गर्दैछे। दुइजना मान्छेको साथबाट उडान भर्न यो चरी निस्कदै छे। कोटा पुर्याउन मात्रै महिला समावेश गरिने यो दौडमा म आफ्नै स्वइच्छाले यसपालि पहाड सँग तिल उभिने जमर्को गर्दैछु।
हाल दुईजना व्यक्तिको साथ चाहिएको छ, त्यस पश्चात् म आफै यसपाली चुनावमा उभिनेछु, मलाई मेरै पारिवारिक श्रोतबाट भोट मिल्ला या नमिल्ला त्यसको पनि चिन्ता नगरीकन मेरो सोचलाई व्यवहारमा उतार्न जाँदै छु। हरेक गरिब बस्तीको पिडाको अनुभव, इज्जतको कारण हरेक चेलीको मौनता, एउटा गरिबले उपचार नपाई पाएको मृत्यु भोग र रातो पुर्जामा नाम लेखाइ सुनको पिँजडामा सजिएकी नारीको व्यथा एउटा गरिव बालकले उसको स्वइच्छा अनुसार नपाएको शिक्षा यस्ता हजारौं पीडा खेपि रहेका जनताको अवस्थाले हरेक दिन आफैं भित्र आत्माआलोचना गरि आज यो निर्णय लिन पुगेको छु।
एउटा वडा सदस्यको चुनाव लड्ने सम्म हैसियत नभएको मेरो आर्थिक पाटोले आज संसदीय चुनाव लड्ने सोचलाई पक्का बनाएको छ। अनुभवको नाउँमा धेरैको लाचारी पन देखेको छु। कसैलाई न्याय दिलाउन भन्दा आफैं अन्याय परेको र उक्त अन्यायबाट आफुलाइ प्रशिक्षण गरेको छु। कसैको विरुद्धमा नबोली केवल आफ्नो सिद्धान्त र विचारमा उभिने प्रयत्न गर्दैछु। एउटा आमासमुह वा टोलको प्रतिनिधित्व गर्न सक्छे भनेर सोच्न नसक्ने जनताको सामु मंसिर ४ मा हुने संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने जानकारी गराउँदछु।
मेरो उम्मेदवारीको समचार, अन्तर्वार्ता केही बन्ने छैन किनकी म एक साधारण मान्छे हुँ। मनमा सहि हो हो हिम्मतलाई मान्नै पर्छ भनेर आउने कमेन्ट्हरु पनि पार्टीले कसरी मुल्यांकन गर्छ के भन्छ होला भनेर रोकिने छ।
सहिलाइ सहि भन्न नसक्ने कार्यकर्ताहरुले मेरो यो उम्मेदवारलाई हाँसोको रुपमा लिन सक्छन् या पागलको रुपमा सबै स्विकार गर्दछु।
भरतपुर ११ सल्लेरीशान्ति टोल चितवन
क्षेत्र नम्बर २





















