काठमाडौं /नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताएका छन्।
लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसकेको उनले बताए।
गठबन्धनले छेकेर एमाले नछेकिने उनको भनाइ छ। एमालेको शक्ति र पार्टीप्रति देखिएको जनलहरले सत्तपक्षी दल अत्तालिएको पनि अध्यक्ष ओलीले जिकिर गरे। उनले भने, ‘तराई मधेशलाई झुक्क्याउन खोजियो।
तराई मधेशलाई झुक्क्याएर गलत बाटोमा लग्न खोजियो। आज त्यहाँका नागरिक जागरूक भएका छन्।’ एमालेको बहुमत रोक्न सत्ता गठबन्धन दल लागिरहेको भए पनि त्यसले फरक नपर्ने उनले बताए।
ओलीले काँग्रेसलाई बुढ्यौली लागेको र लौरी टेकेर पनि अडिन नसक्ने भएको बताए। उनले आफूलाई काँग्रेसको माया लागेको बताए। ‘बिचरा काँग्रेस, माया लाग्छ मलाई। मान्छेलाई त ७३, ७५, ८०, ८५, ९० मा अलिकति बुढौली लाग्छ। एउटा पार्टी त जवान हुन्छ नि ८०, ९०, १००, २०० वर्षमा। काँग्रेस के भएको? लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो। अडिनै नसक्ने, खुट्टै टेक्न नसक्ने भइसक्यो,’ उनले भने।
ओलीले काँग्रेस अडिन नसक्ने भएकैले प्रचण्ड वा अरू खोज्न थालेको बताए। ‘लौ न भन्दै हात समातेको छ। के भएको काँग्रेस। पार्टी त यति साह्रो त नहुनुपर्ने,’ उनले भने। ओलीले आउँदो निर्वाचनमा एमाले विजयी हुनै पर्ने दोहोर्याए। देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो।





















