काठमाडौं / सत्ता गठबन्धनको सीट बाँडफाँडको मोडालिटी टुंगो लगाउन बनेको कार्यदलमा मोडालिटीको विषयले प्रवेश पाएको छ।
आगामी संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गरेका छन्।
कार्यदल सदस्यसमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठक जारी रहेको र विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताए। गत साउन २० मा सत्ता गठबन्धनले चुनावी मोर्चा गरेर जाने निर्णय गरेका थिए। कुन दलले कति सिट लिने भन्नेबारे आधार तय गर्नका लागि बैठक बसेको हो।
‘कार्यदललाई दिएको जिम्मेवारी छिटोभन्दा छिटो सक्ने गरी छलफल जारी छ,’ उनले भने, ‘केही दिनभित्रमै कार्यदलले काम पूरा गर्छ।’ उनले कार्यदल बैठकमा खुलस्त ढंगले विभिन्न मोडालिटीबारे छलफल भइरहेको जानकारी दिए।
कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन्। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट सिटौला, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।
माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।





















