चितवन / चितवनमा सूचनाको हक सम्वन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले हरेक नागरिकले सरकारी कार्यालयबाट सूचनाको हक प्रयोग गरेर सूचना लिन अनुरोध गर्नु भएको छ ।
विहीबार भएको अन्तरक्रिया कार्यक्रममा भरतपुरमा सम्वोधन गर्दै खनालले सूचना लिने दायित्व पत्रकारको मात्र नभइ हरेक नागरिकको रहेको बताउनुभयो ।
उहाले कार्यालयले गरेको कामकार्वाही र सेवाको विषयमा जानकारी लिने, गुनासो गर्ने, गुनासो सुन्ने नियकाय रहेकाले निर्धक्क भएर सूचनाको प्रयोग गर्न अनुरोध गर्नुभयो ।
खनालले अब अर्को कार्यक्रममा सरकारी कार्यलयको सूचना अधिकृतहरुको गुनासाहरु पनि सुन्ने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्माले कार्यालयले सम्पादन गरेका कामको विषयमा सूचना पाउने अधिकार नागरिकको रहेको बताउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश प्रेस रजिष्टार रेवती सापकोटाले भरपार्दो सूचना लिनु अनुरोध गर्नुभयो । हतारमा सूचना लिदा गतल सन्देश जाने भएकाले सूचना लिने र दिने दुवैले आवश्यक ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
प्रदेश सूचना पुनरावेदन समिति हेटौडाका अध्यक्ष हरिप्रसाद अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुृन अधिकृत मदनप्रसाद शिवाकोटीले सूचनाको हक र प्रयोगको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रदेश मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयका सूचना अधिकारी, वार एशोसियसनका जिल्ला अध्यक्ष रामकृष्ण अधिकारी, जिल्लाका पत्रकार संग आवद्ध संघ सस्थाका प्रतिनिधिहरु, मानवअधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति हेटौडाका सदस्य पत्रकार सम्झना हुँमागाई ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश सूचना पुनरावेदन समिति हेटौडाका सदस्य तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको महासचिव पत्रकार कृष्ण सारु मगर ले गर्नुभएको थियो ।





















