प्रेमलकुमार खनाल
नेपाली कम्युनिस्ट आन्दोलनले सात दशक पार गरिसकेको छ। यहाँसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले गौरवको इतिहास निर्माण गरिसकेको छ। हो, यही नेपालको राजनीतिक इतिहासमा युगान्तकारी कदम उठाउने मुख्य हस्ति हुन् पुष्पलाल श्रेष्ठ। पुष्पलाल नेकपाका संस्थापक महासचिव हुन्।
कम्युनिस्ट पार्टी गठन गर्ने उनको युगान्तकारी कदमले नेपालको राजनीतिलाई नयाँ दिशा र विचार दियो, साथै विकल्पको सम्भावनातर्फ अघि बढ्न प्रेरित गर्यो।
श्रमिक, उत्पीडित र किसानका हितमा सधैँ सोचिरहने पुष्पलाल सम्पूर्ण जीवन देश र देशवासीका नाममा समर्पण गर्ने आदर्श नेता हुन। उनको विचार र मान्यताबाटै आजको नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ। पुष्पलालले गरेका दुःख र दौडधुप अत्यन्त रोमाञ्चकारी र प्रेरणादायक छन्।
१. समाजवादको भविष्य कम्युनिस्ट पार्टीको क्रान्तिकारीकरणमा निर्भर हुन्छ।
२. सही क्रान्तिकारी बिचार, संगठन, सर्वहाराकृत कार्यशैली र जीवन शैली कम्युनिस्ट पार्टीको क्रान्तिकारीकरण र सबलीकरणको आधार हुन्छ।
३. कम्युनिस्ट पार्टीमा निर्णयको आधार सामूहिक छलफल, सर्वसम्मत निर्णय वा बहुमतबाट निर्णय गरिनु पर्दछ। पार्टीको निर्णयलाई नेता देखि सदस्यले विना शर्त पालना गर्नु पर्दछ।
४. पार्टी भित्र फोहोरमैला हटाउने उपाय पार्टी र सरकारका कामको आवधिक समीक्षा हो। तसर्थ हरेक कमिटीले आफूले गरेका कामको समीक्षा गर्ने र माथिल्लो कमिटीमा नियमित लिखित रिपोर्टिङ गरिरहनु पर्दछ।
५. कम्युनिस्ट पार्टीको आत्मा भनेकै बैठक हो, बैठकमा नै सम्पूर्ण पार्टीको जीवन देखिन्छ। तसर्थ जुनसुकै समस्या आउने बित्तिकै नियमित बैठक भन्दा झन् चाँडो बैठक बोलाएर उत्पन्न समस्या समाधान गर्नुपर्दछ।
६. व्यक्ति कमिटी मातहत हुन्छ, पार्टीमा नेता देखिन कार्यकर्ता पार्टीको सदस्यको हैसियतले समान हैसियत हुन्छ।
७. कम्युनिस्ट पार्टीमा कुनै नेता विशेषको देवत्वकरण अर्थात I am with… भन्ने हुँदैन। हरेक कम्युनिस्टले व्यक्ति पूजाको विरोध गर्नु पर्दछ।
८. कम्युनिस्ट पार्टीले जनताबाट अलग थलग भएर होइन, पार्टी र जनताबीच नङ र मासुको जीवन्त सम्बन्धभई रहनु पर्दछ। र जनसम्बन्ध बढाउन कम्युनिस्ट पार्टीले हरहमेशा ध्यान दिनु पर्दछ।
९. हरेक कम्युनिस्ट नेताले अहंकार, जिद्दीपन, घमण्डीपन, छोडी दिनु पर्दछ, सादाजीवन उच्च विचार राख्नु पर्दछ।
१०. पार्टी सदस्यहरूले हामी कम्युनिस्टको निम्ति नीति व्यक्ति प्रधान नभई नीति प्रदान हुन्छ भन्ने तथ्यलाई बुझ्नु पर्दछ।
११. पार्टीमा विश्वास राख्नुमा नै हाम्रो सफलता निर्भर गर्दछ।
१२. कम्युनिस्ट पार्टीमा अवसरवादीहरूले नेतृत्वलाई प्रभावमा पारेर आफ्नो फायदा लिन्छन्, उनीहरूबाट नेतृत्व सजग हुन।
१३. कम्युनिस्ट पार्टीले ३ ‘स’ अर्थात सिद्धान्त, संगठन र संघर्षलाई सन्तुलित तवरले अगाडि बढाई रहनु पर्दछ।
१४. कम्युनिस्ट पार्टीले जनताका समस्या समाधान गर्न उच्च प्राथमिकता दिनै पर्दछ, साथै परिवार सदस्यको रुपमा रहेका कार्यकर्ता र सदस्यले भोगी रहेका वैचारिक, व्यक्तिगत, र पारिवारिक समस्यालाई अभिभावकले झैँ समाधान गर्न तत्परता देखाई असल अभिभावकको भूमिका निर्वाह गर्नुपर्दछ।





















