झापा/ नेपाली काँग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन्।
गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा महामन्त्री शर्माले गगन प्रधानमन्त्रीको लागि योग्य र सक्षम रहेको बताए।
उनले भने, ‘सम्भावना भएको युवा देशका लागि केही गर्छु भन्ने हिम्मतका साथ आउँछ भने उसलाई समर्थन गर्नुपर्छ, गगन हिम्मत, योग्यता र क्षमता भएका व्यक्ति हुन्।’ ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको काँग्रेसको इतिहास रहेको पनि उनले बताए।
गगनलाई आफूले भावी प्रधानमन्त्रीका लागि समर्थन गर्नु अनौठो नभएको उनले प्रस्टाए। ‘बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काँग्रेसको इतिहास छ,’ शर्माले भने, ‘मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन।’
काँग्रेसमा गगन मात्र होइन थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको उनले बताए। फरक प्रसंगमा शर्माले आफूलाई झापा १ बाट उम्मेदवार बन्ने सुविधा भएपनि हार्ने छुट नभएको बताए। नेता कृष्णप्रसाद सिटौलालाई चुनाव जिताउनुपर्ने दायित्व झापा काँग्रेसका नेता कार्यकर्ताको भएको उनको भनाई छ।





















