चितवन / भरतपुर अस्पतालमा उपचारको क्रममा एक शिशुको मृत्यु भएको छ । आज (बिहीबार) उपचारको क्रममा भरतपुर महानगरपालिका १५ का शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोराको मृत्यु भएको हो ।
घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् । पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरवाही गरेको आरोप लगाएका छन् । उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनिदिएका हुन् ।
लम्साल दम्पतीले छोरा बिरामी भएपछि उपचारका लागि बिहान १० बजे अस्पतालमा ल्याएका थिए । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।
पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको जनाएका छन् । उपचार छाडेर नर्सहरु वार्डमा नै नर्सहरु जन्मदिन मनाउन लागेको मृतक शिशुको आफन्तले आरोप लगाएका छन् ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दूध सर्किएर बच्चाको मृत्यु भएको बताए ।





















