
भरतपुर / संस्थागत विद्यालयहरुको छाता संगठन प्यावसनको चितवन शाखाले भवन बनाउने भएको छ ।
भरतपुर–११ गणेशस्थानमा प्यावसन चितवनले भवन निर्माण गर्न लागेको हो । नयाँ भवनको भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा शिलन्यास गर्नुभएको छ ।
१ कट्टठा १२ धुरमा करिब ६० लाख लागतमा सभाहल सहितको भवन बन्ने जनाइएको छ ।

२०५० सालदेखि प्यावसन चितवनले लिएको सो जग्गामा हाल जीर्ण अवस्थाको कार्यालय भवन समेत रहेको छ । मेयर रेनु दाहालले भरतपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने बताउनुभयो ।
“राम्रो पढाईका लागि भरतपुर जाउँ भन्ने अभियान चल्नुपर्छ”, उहाँले भन्नुभयो, “शैक्षिक सुधारका सवालमा सरोकारवालाबीच सहकार्य हुन जरुरी छ ।”

उहाँले प्रक्रिया पुरा गरेर भवन निर्माणलाई समयमै पुरा गर्न समेत आग्रह गर्नुभएको छ । उपमेयर चित्रसेन अधिकारीले नगर शिक्षा समितिले महानगरको शिक्षाको रणनीति र सवालहरुलाई सम्बोधन गर्दै आइरहेको बताउँदै समितिलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्यावसन चितवनका अध्यक्ष कृतिनिधि अर्यालले नयाँ भवन दशै अगाडी पहिलो चरणको निर्माण पुरा गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
भवन शिलन्यास कार्यक्रममा प्यावसनका केन्द्रीय सदस्य मोहन लामा, चितवनका प्रमुख सल्लाहकार टिकाराम चापागाई, पूर्वअध्यक्षहरु केशवकुमार श्रेष्ठ, बेलबहादुर गुरुङ, महानगर अध्यक्ष लेखनाथ खनाल, प्यावसन प्रदेशका नवराज भट्ट, स्मल हेभन स्कुलका प्राचार्य विमल क्षेत्री, वडा सदस्य भोजराज सुवेदी, गणेशस्थान टोल सुधार समितिका अध्यक्ष राजनकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।





















