काठमाडौं / नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ।
एमाले स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेको हो।
‘सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधन, सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम, विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख डोज खेर गएको र अब चाँडै २० लाख खोप म्याद सकिएर फाल्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका छन्। ‘कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रासामु छ।’ पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ।
एमालेले स्वास्थ्य क्षेत्रमा सरकार प्रथम दृष्टिमै असफल भएको जनाएको छ। उसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग भएको दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग हो।’





















