चितवन / जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा नेकपा एमाले भाग्यशाली साबित भएको छ ।
आज जिसस प्रमुखसहित सात सदस्य पदका लागि भएको निर्वाचनमा एमालेलाई भाग्यले साथ दियो । सबै पदमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट प्रमुखसहित ६ पदमा एमाले विजयी भयो ।
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले उप-प्रमुखnसहित एक सदस्यमा जित हात पार्दा नेपाली कांग्रेसले एक सदस्यमा मात्र जित्यो । नेकपा माओवादी केन्द्र भने जिससमा शुन्य भयो ।
जिसस प्रमुखमा गोलाप्रथाबाट एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित भए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्ण बहादुर रानाभाट र एमालेले अधिकारीले समान सात-सात मत पाएपछि गोलाप्रथा भयो । जसमा एमालेलाई भाग्यले साथ दियो ।
उप-प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । उप-प्रमुखमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
तीन जना खुला सदस्यमा एमाले दुईमा विजयी हुँदा कांग्रेसले एउटा सदस्य पद जित्यो । खुला सदस्यमा एमालेबाट कृष्णभक्त भट्टराई र बाबुराम सुवेदी विजयी भए । कांग्रेसबाट संजिवप्रसाद पौडेल निर्वाचित भए । उनीहरु सबै गोलाप्रथाबाट नै निर्वाचित भएका हुन् ।
तीन जना महिला सदस्यमा एकीकृत समाजवादीले एक र एमालेले दुई सदस्य जित्यो ।एकीकृत समाजवादीबाट पूजाना गुरुङ १४ मतका साथ विजयी भईन् । उनले एमालेबाट पनि मत पाईन् ।
महिला सदस्यमा एमालेले एक जना उम्मेदवार कम उठाएको थियो । प्रमुखमा एकीकृत समाजवादीले सहयोग गर्ने आन्तरिक तयारी भएपछि एमालेले एक उम्मेदवार कम उठाएको थियो ।
अन्य दुई सदस्यमा भने मत बराबर भएपछि गोलाप्रथा भयो । जसमा एमालेबाट सविता चौधरी र अनिता नेपाल निर्वाचित भए । दलित वा अल्पसंख्यक सदस्यमा एमालेकी गुनु विक निर्वाचित भईन् । मत बराबर भएपछि गोलप्रथामा उनलाई पनि भाग्यले साथ दियो ।





















