चितवन / रानाभाट/भाट समाज नेपाल जिल्ला कार्यसमिति चितवनको नयाँ कार्यसमिति गठन भएको छ ।
शनिबार सम्पन्न समाजको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनले राजु रानाभाटको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष तथा द्धितिय उपाध्यक्षमा क्रमशःझेक बहादुर रानाभाट, प्रभु रानाभाट र रेखा रानाभाट निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा तेजबहादुर रानाभाट, सह–सचिवमा वेलबहादुर रानाभाट, कोषध्यक्षमा प्रदिप रानाभाट र सह–कोषध्यक्षमा चेतबहादुर रानाभाट चयन हुनुभएको छ ।
कार्यसमितिका अन्य सदस्यहरुमा नारायण रानाभाट, प्रेमबहादुर रानाभाट, शान्ती रानाभाट, काजीबाबु रानाभाट, ज्योति रानाभाट र राधा रानाभाट रहनुभएको छ । सोही अधिवेशनले महिला अध्यक्षमा चिजा रानाभाटलाई चयन गरेको छ । १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा ३ जना पछि मनोनित गरिने समितिका नवनिर्वाचित अध्यक्ष राजु रानाभाटले जानकारी दिनुभयो ।
कार्यक्रममा निर्वतमान समितिका वरिष्ठ उपाध्यक्ष लोक बहादुर रानाभाटले स्वागत मन्तव्य तथा महिला संयोजक कमला रानाभाटले शुभकामना मन्तव्य राख्नुभएको थियो । रानाभाट/भाट समाज नेपालको स्थापना वि.स २०४९ सालमा भएको हो ।
अहिले चितवनमा मात्रै ५२५ रानाभाटको घरधुरी र २५५० जनसंख्या रहेको छ । सोही कार्यक्रममा समाजभित्रका ५ जना जेष्ठ नागरिक, ३२ जना विभिन्न विधामा उत्कृष्ट नम्बर ल्याएर उत्तिर्ण हुन सफल विद्यार्थीहरु र हालै सम्पन्न स्थानिय तहमा विजयी भएका ३ जना जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका समाजका केन्द्रिय अध्यक्ष बाबुराम रानाभाटले रानाभाट जातीलाई संविधानमा सुचिकृत गर्नुपर्ने भन्दै इतिहासको ड्राफ्ट राष्ट्रिय समावेशी आयोगमा समेत बुझाइएको बताउनुभएको छ ।
उहाँले सुचिकरणका लागि अहिले रानाभाट जातीको इतिहास लेखनको कम अन्तिम चरणमा पुगेको बताउनुभयो । केहीले क्षेत्री, केहीले ब्रामह्ण जाती लेखिदिने गरेको भन्दै रानाभाट/भाटहरुको आफ्नै ठोस जातीय पहिचानका लागि केही समय अघि समाजले विज्ञप्ती समेत सार्वजनिक गरेको थियो ।
साथै केही समय अघि मात्रै सम्पन्न भएको राष्ट्रिय जनगणना २०७८ मा समेत जातीको ठाउँमा खाली छोडिदिन देशभरका रानाभाट/भाटहरुलाई निर्देशन दिइएको थियो ।
समितिका अध्यक्ष ज्ञानबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य हरि रानाभाट, बाग्मती प्रदेश सल्लाहकार राजु रानाभाट लगायतको उपस्थिति रहेको थियो ।





























