चितवन / भरतपुर महानगरपालिकामा अनलाइन कर भुक्तानी प्रणाली सुरु भएको छ । उक्त अनलाइन कर भुक्तानी प्रणालीको आज (मंगलबार) महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर वातावरण सृजना गर्ने उद्देश्यसहित महानगरले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो । अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा आएसँगै अब घरमै बसेर कर तिर्न सकिने छ । भरतपुर महानगरमा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिनेछ ।
आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । अहिले इ–सेवा, खल्ती, कनेक्ट आईपिएसमार्फत भुक्तानी गर्न सकिने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गर्दै मेयर दाहालले भरतपुर महानगरपालिको नीति तथा प्रतिवद्धता अनुसार सेवाको सुभारम्भ गरिएको बताईन् । भरतपुरका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उनले विश्वास व्यक्त गरिन् । भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्न चाहिने सुचकहरु क्रमशः पुरा गर्ने क्रममा अनलाईन प्रणालीको सुरुवात गरिएको समेत उनले उल्लेख गरिन् ।
अनलाईन प्रणालीले भरतपुरलाई सुशासनलाई बाटोमा हिड्न प्रेरित गर्ने उनको भनाई छ । स्मार्ट सिटी निर्माण हुन जनप्रतिनिधि, कर्मचारी तथा आम जनता स्मार्ट हुन आवश्यक पनि उनले औंल्याईन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चित्रसे अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक भएको बताए । स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो अनलाईन भुक्तानी प्रणाली भएको उनको भनाई थियो । उपप्रमुख अधिकारीले यसको कार्यान्वनका लागि सबै पक्षले उतिकै चासो दिनुपर्नेमा जोड दिए ।
भरतपुर महानगरपालिकालाई सुशासन र डिजटलमैत्री बनाउने घोषणापत्रमा उल्लेख गरे अनुसार पहिलो कार्यको थालनी गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले बताए ।
यो प्रणालीले महानगरको सम्पूर्ण तथ्याङ्क सजिलोसँग दिन सकिने समेत सुवेदीले बताए । उनले यसले महानगरका हुने ढिलासुस्ती र भिडभाड हट्ने विश्वास व्यक्त गरे ।
यसको कार्यान्वनका लागि २९ वटा वडाको टोल सुधार समितिमार्फत कार्यविधि निर्माण गरी भिडियोसहितको तालीम प्रदान गरिने सुवेदीले जानकारी दिए ।























