चितवन / चितवन,नवलपुर, तनहुँ र धादिङ जिल्लामा एकसाथ लागुऔषध विरुद्धको ४० दिने अभियान संचालन गरिने भएको छ ।
सेन्ट्रल कलेजसंगको सहकार्यमा रुपान्तरण र युवा प्रालिले अभियान संचालन गर्न लागेको हो । अभियान मार्फत तीन जिल्लाका ४० विद्यालयमा अध्ययनरत ५ हजार विद्यार्थी लाभाम्वित हुनेछन् ।

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिसँगको सहकार्यमा उक्त संस्थाले दुर्व्यसनी विरुद्धको सचेतनामुलक अभियान गर्ने भएको हो ।
आज (सोमबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त अभियान एक साता भित्रै सुरु गरिने जनाकारी दिईएको छ ।
उक्त अभियान चितवन सहित नवलपुर र तनहुँका ४० विद्यालयमा चलाइने संस्थाका अध्यक्ष ईश्वर गैरेले जानकारी दिए ।
विद्यालय सञ्चालनको समयमा मात्रै कार्यक्रम गरिने भएकोले दुई महिना भित्र अभियान सम्पन्न हुने गैरेले बताए । कक्षा ८ देखि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको उनले बताए ।
यही तहमा अध्ययनरत विद्यार्थीहरु नै बढी मात्रामा लागू पदार्थ दुर्व्यसनीमा फस्ने जोखिम हुने भएकोले उनीहरुलाई नै लक्षित गरेर कार्यक्रम गर्न लागिएको गैरेको भनाइ छ ।
‘विद्यालय उमेरदेखि नै लागू पदार्थ दुर्व्यसनीमा फस्ने गरेको पाईन्छ । यही समूह नै दुर्व्यसनीको संजाल बनिरहेको छ । त्यसैले उनीहरुलाई नै लक्षित गरेका छौं’, उनले भने ।
प्रत्येक विद्यालयमा विद्यार्थीलाई दुई घण्टा लागू पदार्थ दुर्व्यसनी र यसले निम्त्याउने घटनाक्रमको बिषयमा सचेत गराइने उनले बताए । यस्तै प्रयोगकर्ताहरुको अनुभवलाई समट्दै तयार पारिएको भिडियो सामाग्रीको माध्यमबाट पनि उनीहरुलाई सचेत गराइने गैरेले बताए ।
‘एउटा विद्यालयमा दुई घण्टा कार्यक्रम गर्छौं, उनले भने,’प्रयोगकर्ताहरुको अनुभव सुनाउछौं । यो कति पीडादायी हुन्छ र यसले जीवन कसरी वर्वाद पार्छ भनेर सचेत गराउछौं ।’
यस्तै हरेक विद्यालयमा लागू पदार्थ दुर्व्यसनीविरुद्ध हस्ताक्षर पनि संकलन गरिने उनले जानकारी दिए । अभियानका क्रममा दुर्व्यसनीमा फसेका प्रयोगकर्ताहरु फेला परे विद्यालय र अभिभावकसँग समन्वय गरिने पनि उनले बताए ।
यस्तै ध्यानको माध्यमले लागू पदार्थ दुर्व्यसनीबाट बच्न सकिन्छ भन्ने बिषयमा पनि विद्यार्थीहरुलाई सचेत गराइने उनले बताए । ‘अतृप्त खुशी खोज्ने चाहनालाई लागू पदार्थ दुर्व्यसनीमा फस्ने गरेको पाईन्छ । त्यसैले ध्यानलाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम गर्छौं’, उनले भने ।
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले लागू पदार्थ दुर्व्यसनी अहिले मुख्य चुनौतीको रुपमा रहेकोले रुपान्तरण र युवासँग सहकार्य गरेर अभियान सुरु गर्न लागिएको बताए ।
विद्यालयमा अध्ययनरत एक जना मात्रै पनि दुर्व्यसनीमा फस्दा विद्यालय हुँदै समाजमा नै फलिने भएकोले यस्तो कार्यक्रम आवश्यक रहेको पौडेलको भनाइ छ ।
कार्यक्रमले लागू पदार्थ दुर्व्यसनी बारे सचेत गराउने र प्रयोगकर्ताहरुलाई पनि यसबाट बाहिर आउन मद्त मिल्ने उनको विश्वास छ । यस्तो कार्यक्रम विद्यालयमा प्रभावकारी हुने भएकोले विद्यालयस्तरमा नै गर्न लागिएको उनले बताए ।
‘घर-घर पुग्न सम्भव छैन । विद्यालयमा नै यस्तो कार्यक्रम प्रभावकारी हुने भएको विद्यालयस्तरमा नै गर्न लागेका हौं, उनले भने,’यसले लागू पदार्थ दुर्व्यसनीमा फस्नबाट जोगाउछ भने प्रयोगकर्ताहरुलाई पनि छोड्न मद्त मिल्छ ।’
समाजलाई लागू पदार्थ दुर्व्यसनीबाट बचाउने उद्देश्य रहेको उनले बताए । सेन्ट्रल कलेजले यस अघि पनि सोही संस्थासँगको सहकार्यमा बिभिन्न कार्यक्रम आयोजना गरेको पनि उनले जानकारी दिए ।
यो कार्यक्रमले सरकार तथा सम्बन्धित संघ संस्थालाई पनि झकझकाउने विश्वास लिईएको छ । नेपालका सात प्रदेश मध्य बागमतीमा लागू पदार्थ प्रयोगकर्ता बढी रहेको पाईन्छ ।
नेपालमा लागू पदार्थ प्रयोगकर्ताको संख्या वार्षिक पाँच दशमलव ६ प्रतिशतले बढ्ने गरेको तथ्याङ्कले देखाउँछ ।






















