चितवन / चितवनको सौराहामा नमूना संयुक्त राष्ट्र संघीय सम्मेलन सुरु भएको छ । सिक्स ह्याट्स प्रालिको आयोजनामा बिहीबार बाट सुरु नमूना संयुक्त राष्ट्र संघीय सम्मेलन आइतबारसम्म चल्नेछ ।
उक्त कार्यक्रममा चितवनको अंकुरम एकेडेमीका ३१ विद्यार्थीले सहभागिता जनाएका छन् । विद्यार्थीमा कुटनैतिक र भू–राजनैतिक क्षतमा विकासका लागि सहयोग पुग्ने भएकोले उनीहरुलाई कार्यक्रममा सहभागी गराईएको स्कुलका प्रिन्सिपल सुमन पौडेलले जानकारी दिए ।
यस किसिमका कार्यक्रमले उनीहरुमा अन्तर्राष्ट्रिय स्तरको बौद्धिक विकासमा सहयोग पुग्ने उनको अपेक्षा छ । स्कुलले शिक्षा क्षेत्रको स्तरोन्नतीको लागी विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउँदै आएको उनले बताए ।
कार्यक्रममा चितवनका दुईसहित देशभरका विद्यालयबाट ८५ जना विद्यार्थी सहभागी छन् । यस्तै सञ्चालक समितिमा २० जना विद्यार्थीहरु रहनेछन् ।
जसमा संयुक्त राष्ट्र संघीय सम्मेलनको मोडलमा कार्यक्रम हुनेछ । प्रतिस्पर्धि विद्यार्थीहरुले बिभिन्न देशको प्रमुख प्रतिनिधिको रुपमा सहभागिता जनाउनेछन् ।
प्रतिस्पर्धिहरुलाई प्रत्येक देशका समस्याहरु दिएर त्यसका समाधानका उपायहरु खोजी गरी निष्कर्श निकाल्न र सम्पूर्ण देशका प्रतिनिधिहरुबीच प्रगाढ सम्बन्ध बनाउन प्रोत्साहन गरिनेछ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरु मध्य उत्कृष्ट तीन छनौट गरिनेछ । उनीहरुलाई अमेरिकामा हुने नमूना राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन २५ देखि ७५ प्रतिशत सम्मको खर्च सञ्चालक समूहले व्यहोर्नेछ ।





















