काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा लोकप्रिय मत पाएको बताएका छन् ।
स्थानीय तहको निर्वाचन लगत्तै एमालेले जनसंगठनका नेतृत्वहरुको बैठकलाई बिहिबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसंगठनका संयोजक भानुभक्त ढकालको अध्यक्षमा बसेको बैठकले चुनावबारे समीक्षा गरेको हो। बैठकमा एमालेका २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूको सहभागिता थियो।
मत पाउँदा पाउँदै पनि पार्टीभित्रकै समस्याका कारण परिणाम निस्कन नसकेको उनको विश्लेषण थियो। ओलीले पार्टीमा टीम स्प्रिट नभएको र एमालेलाई नेताहरुबाटै चुनौती भएको टिप्पणी गरे।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘जनताले नेकपा ९एमाले० लाई माया गरेका छन्। र लोकप्रिय पहिलो मत दिएका छन्।
हामी जनताप्रति आभारी छौँ। तर, समस्या हामीभित्रै देखिएको छ। आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो। नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन। यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ।’





















