काठमाडौं / नेपाली काँग्रेसका नेता गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटले उपयुक्त प्राथमिकता समातेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बजेटको स्वागत गरेका हुन्।
‘हाम्रो अर्थतन्त्रको संकटको चुरो भनेको व्यापार घाटा हो। व्यापार घाटा कम गर्न उत्पादन र उत्पादकत्व बढाउनुपर्थ्यो। त्यसैले आयातबाट उत्पादकत्वको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ,’ उनले भने, ‘म यसको स्वागत गर्छु।’
उनले बजेटले उत्पादनमा आधारित अर्थतन्त्रको पक्षपोषण गरेको जिकिर गरे। ‘यसका लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो।
करिब ६५ प्रतिशत जनसंख्या कृषिमा भएकोका मात्र होइन, उद्योगको ब्याकवार्ड लिंकेजका लागि पनि कृषिमा लगानी नगरीकन उत्पादकत्व बढ्न सम्भव थिएन,’ उनले भने।
बजेटले समग्र व्यापार घटाउन सही दिशा पक्रिएको उनको भनाई छ। थापाले सरकारले ल्याएको बजेटले जनतामा विश्वास बढाएको बताए। ‘बजेटको निजी क्षेत्रले पनि स्वागत गरेको छ। यसले जनतामा विश्वास पनि बढाएको छ,’ उनले भने।





















