काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले भारतले सीमामा समानान्तर रुपमा सडक निर्माण गरेर नेपाल माथि हस्तक्षेप गरेको बताएका छन् ।
नेपालबाट जाने नदीलाई उचित निकास नदिएर भारतले नेपालमाथि हस्तक्षेप गरेको मन्त्री थापाको भनाइ थियो ।भारतीय हस्तक्षेपलाई रोक्न नसक्दा नदीहरुका कारण नेपालमा थप डुवान भइरहेको उनको भनाइ थियो ।
सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो । सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो ।’
यसबारेमा नेपाल सरकारले पहल गरेको भएपनि भारतीय पक्षले आफ्नो रक्षाका लागि बाँध र तटबन्ध बनाएको बताउँदै आएको बताउँदै थापाले यस्ता कुराले नेपालमा बाढी र डुवानको खतरा अझै बढेको बताए ।
‘यसबारेमा सरकारले पहल नगरेको होइन । उनीहरूले त्यो बाँध र बाटो बनाएका छन्, त्यसमा निकास दिनुपर्यो भनेका हौं । निकास भएन भने त नेपाल पुरै डुबानमा पर्छ । उनीहरुले आफ्नो रक्षाको निम्ती बाँध, तटबन्ध बनाए तर नेपालमा खतरा आयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो ।’
डुवानका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कुराकानी र सम्झौता भएपनि त्यस अनुसार भारतीय पक्षले काम नगर्दा समस्या भएको उनले बताए । \
उनले भने भारतीय प्रधानमन्त्री आउँदा कुरा भएका थिए । सम्झौता भए तर उनीहरूले सही ढंगले निर्वाह गरेका छैनन् ।
























