काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबै हिसाबले उपयुक्त बजेट आएकाले सफल कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
उनले सीमाको बीचबाट बजेट विनियोजना भएको र यो कुनै पार्टीको जस्तो नभई गठबन्धन दलको समन्वय र सहकार्यमा बनेको बजेट भएकाले सकारात्मक र स्वागतयोग्य रहेको बताए।
श्रेष्ठले कृषिलाई रुपान्तरण गरी उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र रोजगारी बढाउने, आयात नियन्त्रणमा प्रतिस्थापन तथा व्यापार घाटामा कटौती बजेटको मुख्य प्राथमिकता भएकाले बजेट उपयोगी र सान्दर्भिक रहेको उल्लेख गरे।
उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, मितव्ययिता र सुशासनको विषयलाई बजेटले सम्बोधन गर्न नसकेको टिप्पणी गरे।
माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले प्रत्येक वडा कार्यालयमा ज्येष्ठ नागरिक क्लब स्थापना गरिनुपर्ने माग गरिन्। उनले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइन्।





















