काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे।
मन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई निष्पक्ष, सुन्तुलित, भरपर्दो र सत्यतथ्यमा आधारित विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै समाज परिवर्तनको मुख्य माध्यम बनाउनुपर्नेमा समेत जोड दिए।
उनले भने, ‘सामुदायिक एफएम रेडियोले खासगरी आधुनिक कृषि, पर्यटन र जलस्रोतलगायत स्थानीय उत्पादन र त्यसको प्रवर्द्धनलाई बढवा दिने गरी प्रसारणमा जोड दिनुपर्ने छ, त्यसका लागि सामुदायिक रेडियोलाई आन्तरिक र राष्ट्रिय एकतासाथ बलियो बनाउनुपर्छ।’
मन्त्री कार्कीले सामुदायिक एफएम रेडियोले चेतनामार्फत समाज परिवर्तनमा अतुलनीय योगदान पुर्याएकामा प्रशंसा गर्दै आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि अझै सकारात्मक भूमिकाको अपेक्षा गरे।
(अकोराब) का पूर्वअध्यक्ष मीनबहादुर शाहीले प्रसारण प्रणालीको सुधार हुने गरी आमसञ्चार नीति तथा ऐन/कानुन निर्माण हुनुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विश्वसनीय पत्रकारिता गर्न आग्रह गरे। -रासस





















