चितवन / नेकपा (माओवादी केन्द्र) खैरहनीले स्थानीय तह निर्वाचनको चुनावी परिणामको समिक्षा गरेको छ । आज शनिबार कंकाली वनभोज स्थलमा खैरहनी नगरपालिका वडा नम्बर ९ को चुनावी समिक्षा वनभोज सहित गरिएको हो ।
चुनावी समिक्षा कार्यक्रममा पार्टी कमजोर रहेको र माओवादी केन्द्र खैरहनीले पार्टी बलियो बनाउनुपर्ने प्रारम्भिक निष्कर्ष निस्किएको माओवादी केन्द्र खैरहनीका अध्यक्ष रामेश्वर पोखरेलले बताए । उनले भने, ‘हाम्रो पार्टीभित्र अन्तरघातका कुराहरु आएका छैनन् । हामी आफैँमा कमजोर देखियौँ । संगठनलाई बलियो बनाउन जरुरी छ ।’
पोखरेलले माओवादी केन्द्रले नेतृत्वको निर्देशन अनुसार बिना स्वार्थ कांग्रेसलाई निर्वाचनमा सहयोग गर्दागर्दै कांग्रेसबाट आफुँहरुलाई ठूलो घात भएको चुनावी समिक्षाले देखाएकोे बताए । उनले भने, ‘हामीले कांग्रेसलाई सहयोग गयौं , तर कांग्रेसबाट घात भएको कुरा सत्य हो अबको निर्वाचनमा कांग्रेसको भर पर्न हुँदैन । आफैँ चुनाव लड्न सक्ने हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’
खैरहनी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका उमेदवार शशि खनियाँ निर्वाचित भएका थिए । उपमेयरमा भने माओवादी केन्द्रकी उमेदवार लक्ष्मी ढकाल पराजित भएकी थिइन् ।






















